काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सहभागी हुन कालीकोटकी आज बिहानै ह्वील चेयरमा सुशीला कुमारी शाही आउनुभयो । जोरपाटीमा अस्थायी बसोबास गर्दै आउनुभएको उहाँलाई केही दिनअघि जिल्लाका नेताले फोन गरेर महाधिवेशन उद्घाटनमा उपस्थित हुन अनुरोध गर्नुभयो । उहाँ कांग्रेसको क्रियाशील सदस्य पनि हुनुहुन्छ । नेताले भनेपछि सुशीलाले इन्कार गर्न सक्नुभएन ।
अनि आज बिहानै ट्याक्सी चढेर महाधिवेशनस्थल भृकुटीमण्डपमा आउनुभयो । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब एक घन्टा ढिलो सुरु भयो । उहाँ कार्यक्रम स्थलमा आइपुग्दा भिडभाड भइसकेको थियो । सुशीला बल्लतल्ल महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारबाट भित्र छिर्नुभयो । तर, उहाँले राम्ररी मन्च देख्न पनि पाउनुभएन । मञ्च नजिकै गएर हेर्न उहाँले पटक–पटक प्रयास गर्नुभयो, तर सक्नुभएन । त्यो भिडले उहाँको लागि बाटो छाडेन ।
अपांगतामैत्री कार्यक्रमस्थल नै छैन । समस्याको के कुरा गरौँ, राम्ररी हिँड्न पनि गाह्रो भएको छ । अहिलेसम्म भित्र छिर्न पाएको छैन्’, उहाँ सुनाउनुहुन्छ । नेपालका बाटो, सडक, अस्पताल, सरकारी अड्डा, सार्वजनिक स्थलदेखि मन्त्रालयसम्ममा आसै अपांगमैत्री वातावरण नभएको भन्दै उहाँले गुनासो पोख्नुभयो । सबेरै कार्यक्रमस्थल आइपुग्नुभएको उहाँमा नेपालका कुनै पनि राजनीतिक दलसँग कत्ति पनि आशा छैन।
‘कसैले अहिलेसम्म हाम्रो लागि केही गरे जस्तो लाग्दैन । कांग्रेससँग पनि आशा छैन, तर भरोसा भने छ । कांग्रेसले गर्ला/नगर्ला थाहा छैन’, उहाँ भन्नुहुन्छ । महाधिवेशनस्थलमै ह्वीलचेयरमा यताउता गरिरहनुभएको थियो, काठमाडौंका रामबहादुर श्रेष्ठ । रामबहादुरको राजनीतिक आस्था नेपाली कांग्रेसप्रति छ । त्यसैले उहाँ महाधिवेशन हेर्न आउनुभयो । तर, महाधिवेशनस्थलमा अपांगता भएकाहरूलाई केही भए पनि सहज वातावरण नदेखेपछि भने उहाँको चित्त दुख्यो ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै वर्ग र क्षेत्रका लागि केही गर्छ भन्ने लाग्याथ्यो । तर, यहाँ आएपछि दिक्क लाग्यो । मञ्चसम्म पनि पुग्न पाइएन । त्यसैले बाहिरतिरै घुमिरहेको’, उहाँ भन्नुहुन्छ । शाही र श्रेष्ठको मात्रै हैन, महाधिवेशनस्थलमा भेटिएका अधिकांश अपांगता भएका व्यक्तिहरूले यहाँ असहज महसुस गरिरहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्