जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १६:४४

पौडी टोली आबुधाबी जाँदै


काठमाडौं, २६ मंसिर । १५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली भोली आबुधाबी जाँदै छ । १५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको २०० मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र एक सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ५० र १०० मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् । अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाउनुभएको छ । प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराउनुभयो ।