जनता टाइम्स

१४ असार २०७६, शनिबार १५:०६

नेपालको आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य : प्रधानमन्त्री ओली


काठमाडौं, असार १४

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध अत्यन्त सन्तुलित रहेको बताउनु भएको छ । मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले आज राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

नेपाललले दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध कायम गरेको तथा नीति पनि तद्नुरुप नै अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छिमेकमा कतैपनि तनाब नहोस भन्ने चाहेको बताउनुभयो । सबै समस्याको समाधान वार्ता र संवादका माध्यमबाट हुनुपर्ने नेपालको मान्यता पनि प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।

‘छिमेकीसँगको सम्बन्ध संलिएको छ, थिति बसेको छ, हाम्रो सम्बन्धका थुप्रै विषयमा पुनरावलोकन भएका छन र भइरहेका पनि छन,’ अन्तर्राष्ट्रिय मञ्चहरूमा छिमेकका सरकार प्रमुखसँग भएका औपचारिक एवं अनौपचारिक छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । विश्व शाान्ति, आम विनाशका हातहतियारको विरोध, लोकतन्त्र र मानवअधिकारको रक्षा, जलवायु परिवर्तन, वातावरण संरक्षणका साथै मानव जातिको हित प्रवद्र्धनलाई पनि देशको परराष्ट्र नीतिले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

इपिजी प्रतिवेदन प्रस्तुतिको वातावरण बन्छ

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह (इपिजी)को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको पनि जानकारी दिनुभयो । इपिजीले प्रशंसनीय काम गरेको भन्दै उहाँले प्रतिवेदनको प्रस्तुतिपछि त्यसमा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा लगिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताउनुभयो । ‘मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको जानकारी पनि दिनुभयो । ‘राष्ट्रलाई विकास–निर्माणको बाटोमा डोर्याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताउनुभयो । उहाँले अन्य देशले पनि त्यसै गरुन भन्ने चाहेको पनि बताउनुभयो ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकूदलगायत कूटनीतिका विविध विधाको चर्चा गर्दै उहाँले आफ्ना मालसामान र उत्पादनको बिक्री बढाउन गरिने अस्वस्थ प्रतिस्पर्धाको विपक्षमा नेपाल रहेको उहाँको कथन थियो । उहाँले भन्नुभयो, ‘बलियाका प्रतिस्पर्धाले दुब्लाहरू मारमा नपरुन ।’

बहुपक्षीयतालाई अस्वीकार गर्नु अनुपयुक्त भएको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले अल्पकालीन लाभलाई लिएर शक्तिका आडमा थिचोमिचो हुन नहुने बताउनुभयो । शक्ति राष्ट्रले साना र निर्बल देशलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार तथा उनीहरूको अन्तर्राष्ट्रिय दायित्वप्रति उहाँको भनाइ लक्ष्यित थियो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घरेलु नीतिको विस्तारित रुप नै देशको परराष्ट्र नीति भएको बताउँदै बदलिँदो परिवेशमा राष्ट्रिय हित संरक्षण एवम् प्रवद्र्धनका साथ कूटनीति सञ्चालन भइरहेको बताउनुभयो । उहाँले शक्ति समीकरणका नयाँ आयाम उत्पन्न भएको चुनौतीपूर्ण विश्व परिवेशमा प्रभावकारी रुपमा कूटनीति सञ्चालन गरी राष्ट्रिय हित प्रवद्र्धन गर्न दक्ष, योग्य एवम् प्रतिबद्ध व्यक्तित्वको अपरिहार्यतामा जोड दिँदै १६६ देशमा विस्तार भएको नेपालको बाह्य सम्बन्ध क्रमशः बढिरहेको बताउनुभयो ।

हाम्रोजस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुकको सन्दर्भमा राष्ट्रिय हित प्रवद्र्धनार्थ परराष्ट्र नीतिलाई उचित सावधानीका साथ कुशलतापूर्वक सञ्चालन गर्नु आवश्यक भएको तर्क गर्दै उहाँले छिमेकीका चासोप्रति नेपाल पूर्ण संवेदनशील रहेको स्पष्ट गर्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्तिको राष्ट्रिय प्रयासलाई सघाउन अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन तथा आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको अभिन्न अङ्गका रुपमा प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो ।