जनता टाइम्स

१४ असार २०७६, शनिबार १९:१४

असारभित्र एकता टुंगिन्छ, दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, असार १४

प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भए जस्तो लागेको बताउनुभयो । ‘पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन, असारभित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नुहुनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेलमार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताउनु भयो ।

प्रधानमन्त्री ओेलीले सरकारले धेरै राम्रा काम गरेको तर त्यसको प्रचार नभएकोले जनतालाई भ्रम पार्नेहरु सफल भएको धारणासमेत राख्नुभयो । ‘यस बर्ष मात्र ४ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । १ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ, काठमाडौंका सडक सफा भएका छन् । दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारीकै अगुवाइमा २०४६ सालमा नेपाली काँग्रेससँग मिलेर पञ्चायत विरुद्धको आन्दोलन सफल भएको बताउनु भयो । ‘कम्यूनिष्ट काँग्रेसलाई आपसमा भिडाएर कमजोर पार्ने राणनीतिलाई मदन भण्डारी र गणेशमान सिंहको सुझबुझले तोड्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कम्यूनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारी भएकै कारणले मात्र त्यो सम्भव भयो ।’

अहिले नेपाल कम्यूनिष्ट पार्टी जहाँ पुगेको छ, त्यसमा पुषपलाल र मदन भण्डारीको ठुलो योगदान रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रिय पुरस्कार –२०७६ प्राडा. सुबोध शर्मालाई प्रदान गर्नुभयो ।

प्रधानमन्त्रीको पुस्तक बिमोचन

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक दृष्टिकोण विमोचन गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको बिचारहरुको संग्रह दृष्टिकोण मदन भण्डारी फाउण्डेसनले प्रकाशन गरेको हो ।