जनता टाइम्स

१४ असार २०७६, शनिबार २०:४१

देउवालाई सञ्चारमन्त्री बाँस्कोटाको जवाफ : बर्तमान सरकार ढाल्ने तागत प्रतिपक्षसँग छैन, दिउसै सपना नदेख्नोस


काभ्रे, असार १४

सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकार ढाल्ने तागत प्रतिपक्ष दलमा नभएको ठोकुवा गर्नुभएको छ । प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको भोलिपल्ट सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले बर्तमान सरकार ढाल्ने तागत प्रतिपक्षी दलमा नभएको ठोकुवा गर्नुभएको हो ।

काभ्रेको पनौती नगरपालिकाको २ र ३ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले दिउसै सपना नदेख्न कांग्रेस सभापति देउवालाई सुझाव दिनुभयो । वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने तागत कस्को छ ? दिउँसै सपना नदेख्नुहोला,’ प्रतिपक्षतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘एउटै पार्टीको दुई तिहाईको सरकार ढाल्ने कस्को हिम्मत छ ?’ उहाँले सरकार ढल्न नेकपा पार्टी नै सिसा जस्तै धुजाधुजा हुनु पर्ने बताउनु भयो ।

सरकार ढल्छ भन्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भएको मन्त्री बास्कोटाको ठहर थियो । सरकार ढल्छ भन्ने हल्लामा सत्यता नरहेको र प्रतिपक्षले देश अस्थिरतातर्फ धकेल्न अफवाह फैलाएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले नेकपाको दुई तिहाई बहुमतको सरकार ढाल्ने सपना भने देख्न सकिने भन्दै ब्यंग्य गर्नुभयो ।