जनता टाइम्स

१४ असार २०७६, शनिबार २२:०२

शौचालयको निर्माणाधिन सेफ्टीट्याङ्कीमा निसास्सिएर चारको मृत्यु


मोरङ, असार १४

मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मोहमद ओसिब आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

अक्सिजनको कमीको कारण बेहोस भएको अवस्थामा फेला परेका उनीहरुलाई तत्काल त्यहाँबाट निकालेर उपचारका लागि विराटनगर लगिएको थियो । सोही स्थान बस्ने ४० वर्षीय दाउत मियाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।

ट्यांकीभित्र पसेका व्यक्तिहरू अचेत अवस्थामा रहेका छन् भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरीचौकी डायनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली तथा स्थानीयबासीले उद्धार गरेका थिए। मृत्यु हुनेहरू सबै सुनवर्षी ९ का रहेका छन्। ट्यांकीमा फसेका दाउद मियाँ भने उपचाररत रहेको प्रहरीको भनाइ छ।