जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १७:१३

नेपाल शीर्षस्थानमा, श्रीलंका ६–० अन्तरले पराजित


काठमाडौं, २९ मंसिर । श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु–१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । आज बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६–० अन्तरले पराजित गरेको हो ।श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो ।

नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे । खेलको पाँच मिनेटै रश्मीले नेपाललाई सुरूवाती अग्रता दिलाइन् । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन् । मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३(० को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४(० को स्थितिमा पुर्‍याइन् भने सलोनी राना मगरले ५३ औं मिनेटमा छैटौं गोल गरिन् । खेलको ८५ मिनेटमा रश्मीले फ्रि किकमा गोल गर्दै नेपाललाई ६(० अन्तरको जित दिलाइन् । नेपालले सुरुवाती मिनेटबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो ।

जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै नेपाल दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ । आयोजक बंगलादेश समान चार अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । उसले तीन खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल व्यहोरेको छ । यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अंक बनाएको भुटान चौथो स्थानमा छ । श्रीलंका भने पुछारमा छ । अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ ।