जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १७:४४

भागबन्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौं : कोइराला


काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताउनुभएको छ । महाधिवेशनमा मतदिने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको बताउनुभयो ।

उहाँले आफूलाई मत दिने कसैप्रति पनि कुण्ठा नभएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो,‘म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन । कसले के गर्यो, किन गर्यो मेरो मनमा छैन । यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो ।’ १४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र युवा पस्ताहरुलाई अवसर नै अवसर खोलिदिएको उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो,‘यो चुनावमा हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ । युवा पुस्तामा नेपाली कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं ।’ त्यस्तै नेता कोइरालाले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रुपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिनुभयो ।