जनता टाइम्स

१ पुष २०७८, बिहीबार १५:४५

७ वर्षीय बालकलाई ओमीक्रोन भेरियन्ट संक्रमण


काठमाडौं, १ पुस । एक सात वर्षीय बालकलाई ओमीक्रोन संक्रमण देखिएको छ । भारत पश्चिम बंगालको मुर्शिदावाद जिल्लाका एक ७ वर्षीया बालकमा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राज्यको स्वास्थ्य विभागका अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले दिएको खबर अनुसार ती बालक भर्खरै यूएईको अबुधाबीबाट फर्किएका थिए ।

अबुधाबीबाट हैदराबाद हुँदै पश्चिम बंगाल पुगेका उनमा ओमीक्रोन संक्रमित देखिएको थियो । बालकलाई मुर्शिदावाद जिल्ला अस्पतालमा भर्ना गरिएको छ । नेपालको पूर्वी सीमाना जोडिएको पश्चिम बंगाल राज्यमा पहिलो पटक ओमीक्रोन भेरियन्ट फेला परेको हो ।

यसअघि भारतमा अर्का एक बच्चामा पनि ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको थियो । गत हप्ता महाराष्ट्र राज्यमा एक ३ वर्षीय बालकलाई ओमीक्रोन भेरियन्ट देखा परेको थियो । भारतको दिल्लीमा आज थप ४ जनामा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा ओमीक्रोन पुष्टि हुनेको संख्या ७७ पुगेको छ ।