जनता टाइम्स

५ पुष २०७८, सोमबार १५:२७

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित


काठमाडौं, ५ पुस । राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित भएको छ । आज १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रियसभा सञ्चालन हुन दिन आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह एमाले सांसदहरूले नमानेपछि अनिश्चित कालका राष्ट्रिय सभाको बैठक स्थगित भएको सूचना सुनाउनुभएको थियो । राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताउनुभएको थियो । उहाँले सत्तापक्षबाट भन्दा पनि प्रतिपक्षबाट बढी अपेक्षा गरिएको भन्दै असन्तुष्टि राख्नुभएको थियो ।

‘प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुनुपर्ने हो कि सत्तापक्ष ? प्रमुख प्रतिपक्षबाट बढी अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो,‘१० औँ अधिवेशन अवरुद्ध गर्ने क्रममा जुन विषय उठाएका छन् ती अझै यथावत छन् । हामीले कारबाही गर्नका लागि उठाएका विषय यथावत छन् । देशको ठूलो पार्टी एमालेले भनेका कुरा सरकारले सुनेको छैन ।’ सर्वदलीय बैठक बोलाउँदा पनि देखावटी काम गरिएको दाहालको भनाइ थियो । उहाँले माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराउनुभएको थियो ।