जनता टाइम्स

१५ असार २०७६, आईतवार १६:५०

परराष्ट्रमन्त्री ज्ञवाली चीन प्रस्थान, यस्तो छ भ्रमण सुची


काठमाडौं, असार १५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा भोलिदेखि आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।

उहाँले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुहुनेछ भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नुहुनेछ । डालियानमा रहँदा उहाँले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नुहुनेछ । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत हुनुहुन्छ । मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो ।