जनता टाइम्स

१५ असार २०७६, आईतवार १७:०८

भक्तपुरमा दिउँसै महिलाको घाँटी रेटेर हत्या


भक्तपुर, असार १५

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो ।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेड तले घरमा बस्दै आउनुभएको भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिएको बताउनुभयो ।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो । कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उहाँले हत्यामा संलग्नको खोजी भइरहेको बताउनुभयो ।