जनता टाइम्स

१० पुष २०७८, शनिबार ०६:५५

छिमेकी मुलुकसँग आँखामा आँखा जुधाएर कुरा गर्ने वातावरण सिर्जना गर्न चाहन्छ एमाले : ईश्वर पोखरेल


काठमाडौं, पुस १० । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी मुलुकसँग आफूहरूले आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने वातावरणको सिर्जना गर्न खोजेको बताउनु भएको छ । तिलक फिल्म प्रालिको पाँचौं वार्षिकोत्सवमा बोल्दै नेता पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले एमालेले छिमेकी देशसँगको सम्बन्ध नेपालको हित अनुकुल बलियो बनाउन चाहेको पनि प्रष्ट पार्नुभयो । ‘यहाँ विदेशी सक्तीसामु लम्पसार पर्ने प्रवृत्ति छ । छिमेकीले कुनै गल्ती गर्दा हामी बोल्न सक्दैनौं । तर, एमाले त्यसका खिलाफमा छ । हामी आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने स्थिति सिर्जना गर्न चाहन्छौं,’ पोखरेलले भन्नुभयो । उहाँले अहिले नेपाली राजनीतिमा दुई धार रहेको धारणा राख्नुभयो । एउटा जनताको पक्षमा काम गर्ने र अर्को कुर्सीको लागि मरिहत्ते गर्ने गरी दुई धार रहेको उहाँको भनाई छ ।

‘हामी प्रगति चाहन्छौं । जनतालाई समृद्धिका सपना बाड्छौं । सोही अनुसार काम पनि गर्छौं,’ उहाँले भन्नुभयो, ‘अर्को गठबन्धन छ । जसले कहिले काम गर्दैन । सधैँ कुर्सीकै लागि मरिहत्ते गर्छ ।’ उहाँले फरक प्रसंगमा बोल्दै कला, संस्कृतिको समृद्धिले मात्रै मुलुक समृद्ध हुनसक्ने बताउनु भयो । राजनीतिले विखण्डन ल्याएमा त्यसको एकता गीत, संगीतले नै गर्ने उहाँको भनाई थियो ।