काठमाडौं, १२ पुस । पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उहाँकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु आइतबार सुटुक्क नयाँ दिल्ली पुगेको खुलेको छ । राणा आइतबार बिहान ११ ४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिनुभएको हो ।
प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रमका लागि तयारी गर्नुभएको छ । पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। उक्त भ्रमणको गृहकार्य भने भइरहेको छ। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने यही साता भ्रमण कार्यक्रमको टुंगो लाग्ने बताउनुभयो । देउवा प्रधानमन्त्री भए यता पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो । पछिल्लोपटक प्रधानमन्त्री बनेपछि उहाँको पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड रहेको छ ।
उहाँले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाउनुभएको थियो । स्कटल्याण्ड भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गर्नुभएको थियो । भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो। प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको लागि सुटुक्क दिल्ली पुगेको चर्चा कांग्रेसभित्र चलिरहेको छ । यसबारे कांग्रेसका केहि नेताहरूले आपत्ति समेत जनाउन थालेका छन् ।भर्खरै महाधिवेशन सकेको कांग्रेसभित्रै आरजुको कार्यशैलीलाई लिएर कुरा उठ्ने गरेको छ । आरजुले प्रधानमन्त्री देउवा र अन्य मन्त्रीहरूलाई अनावस्यक दवाव सृजना गरेको आरोप नेताहरूले लगाउने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्