जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:०५

लोकतन्त्र र संविधानमाथि खतरा देखिएको छ, रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलकै हो : विद्यादेवी भण्डारी


काठमाडौं, असोज २३ । नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएको बताउँदै त्यसको रक्षा गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलहरूको भएको धारणा व्यक्त गर्नुभएको छ।

नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा जारी स्थायी कमिटी बैठकमा सहभागी हुँदै पूर्वराष्ट्रपति समेत रहेकी नेतृ भण्डारीले संविधान र लाेकतन्त्रकाे रक्षाका लागि लाेकतान्त्रिक शक्तिहरु एक भएर लाग्नु पर्ने बताउनुभयाे । ‘आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो, जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले नै यसको रक्षा गर्ने हो’, बैठकमा उहाँले भन्नुभयाे । 

उहाँले ११ वर्षपछि आफू पार्टी राजनीतिमा सक्रिय भएको जानकारी गराउनुभयाे । नेतृ भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन योगदान पुर्‍याउने उद्देश्यले आफू पुनः पार्टी राजनीतिमा सक्रिय भएको बताउनुभयाे ।  ‘११ वर्षपछि पार्टी जीवनमा फर्किएको छु’, भण्डारीले भन्नुभयाे । 

विगतमा आफू पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गर्दै उहाँले आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिप्रति आफ्नो गहिरो माया र विश्वास रहेको धारणा व्यक्त गर्नुभयाे । ‘म पनि हिजो आन्दोलनमा सरिक भएँ, त्यसप्रति अगाध माया, विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र, गणतन्त्रलाई अझै सुदृढ बनाउनका निम्ति मद्दत पुर्‍याउन सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएँ,’ भण्डारीको भनाइ थियो।

नेतृ भण्डारीले लोकतन्त्र र गणतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आफू पार्टी राजनीतिमा सक्रिय हुनुको उद्देश्य पनि लोकतान्त्रिक उपलब्धिको रक्षा र संस्थागत विकासमा योगदान पुर्‍याउनु रहेको स्पष्ट पार्नुभयाे ।