जनता टाइम्स

१२ पुष २०७८, सोमबार ०८:०५

यू–१९ एसिया कपबाट नेपाल बाहिर


काठमाडौँ, पुस १२ । श्रीलंकाविरुद्ध जुझारु प्रदर्शन गरे पनि नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाले आइतबार शारजहाँ क्रिकेट रंगशलामा नेपाललाई ६० रनले हरायो । यूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो हार हो ।
शुक्रबार पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनले पराजित नेपालले मंगलबार कुवेतसँग अन्तिम खेल खेल्नेछ ।

समूह ‘बी’ बाट बंगलादेश र श्रीलंका पहिलो दुई खेल जितेर सेमिफाइनल पुगेका छन् ।चामिदु विक्रमसिंघे र सदिसा राजापाक्षेको शतकमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्दै ४ विकेट गुमाई ३ सय २२ रन बनायो । ओपनर विक्रमसिंघेले १ सय २६ बलमा ८ चौका र २ छक्कासहित १ सय ११ र राजापाक्षेले १ सय १९ बलमा ११ चौका र २ छक्कासहित १ सय ३१ रन बनाए । नेपालबाट आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १–१ विकेट लिए ।

जवाफमा नेपाल यू–१९ टोली ४७.५ ओभरमा २ सय ६२ रनमा अलआउट भयो । अर्जुन साउदले ८० बल खेलेर ३ चौका र २ छक्कासहित ६४ रन बनाए । विवेकले २९ बलमा ३ चौका र ३ छक्कासहित ४६, वासिर अहमदले ५१ बलमा ३ चौका र २ छक्कासहित ४३, ओपनर सन्तोष कार्कीले ३४ बलमा ४ चौका र १ छक्कासहित ३४, देवले ४५ बलमा ४ चौकासहित २८, गुलशन झाले ११ बलमा १३ रन बनाए । श्रीलंका यू–१९ बाट माथिसा पाथिराना र रविन डा सिल्भाले ३–३ विकेट लिए ।