जनता टाइम्स

१२ पुष २०७८, सोमबार १४:४८

एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग छैन : सचिव विष्ट


गुल्मी, पुस १२ । नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको छ ।

आइतबार गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३औं साधारण सभाको कार्यक्रममा विष्टले सो कुरा बताउनुभएको हो ।‘गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले सपनामा पनि गठबन्धनको देख्ने गरेका छन्’, नेता विष्ट भन्नुहुन्छ– ‘एक्लाएक्लै एमाले पार्टीसँग चुनाव लड्ने आँट अन्य पार्टीसँग छैन ।

आगामी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त गर्छौं ।’मन्त्रीमण्डल विस्तार गर्न १ सय दिन लगाउने सरकारले जनताको समस्या र चाहानाअनुसार काम गर्न नसक्ने विष्टको तर्क छ । आर्थिक वर्ष सकिएको करिब ५ महिनामा विकास खर्च ७ प्रतिशत खर्च गर्ने अक्षम, अयोग्य सरकारको आफूले धेरै चर्चा गर्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

त्यस्तै, शिक्षाको क्षेत्रमा जनज्योति क्याम्पसले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउँदै विष्टले भन्नुभयो– ‘शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि सबै विद्यालयमा कम्प्युटर प्रदान गरिर्दै छौं ।’