जनता टाइम्स

१६ असार २०७६, सोमबार १२:५१

सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रियो बिप्लव माओवादी, संखुवासभामा गोली हानाहान


संखुवासभा, असार १४

संखुवासभाको सिलिचुङ गाउँपालिकामा नेत्रबिक्रम चन्द्र (विप्लव) माओबादी समुह र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको छ । आज बिहान साढे ९ बजेतिर विप्लव माओवादी समुह र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको हो ।

गस्तीमा निस्केको सुरक्षाकर्मी र विप्लव समुहका कार्यकर्ताबीच दोहोरो फाइरिङ भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले पुष्टि गर्नुभयो । संखुवासभा सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्ने सिलिङचुङमा बिप्लवसमुहसँग दोहोरो फायरिङ भएको प्रजिअ दुलालले जानकारी दिनुभयो । ‘घटना बिहान साढे ९ बजेतिर भएको हो, अन्य कुरा बुझिरहेका छौं,’ उहाँले भन्नुभयो ।

झडप भएको सूचना पाएपछि आसपासका प्रहरी चौकीहरुबाट पनि थप सुरक्षा टोली पठाइएको छ । विप्लव समुहले पहिलो फायरिङ गरेपछि जवाफमा सुरक्षाकर्मीले पनि गोली चलाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाई छ । बिप्लव समुहले पटक पटक सुरक्षाकर्मीमाथि आक्रमणको नीति नरहेको बताउँदै आएको छ । संखुवासभा घटनाले बिप्लव माओवादीको नीति भन्ने एउटा, गर्ने अर्कै रहेको देखिएको छ ।