जनता टाइम्स

१६ असार २०७६, सोमबार १४:०१

मन्दिर दर्शन गर्न गएका पूर्वडिआइजीले डिउटीमा रहेको सशस्त्र प्रहरी कुटेपछि…


परिचयपछि सशस्त्र प्रहरी झनै आक्रोशित भए । उनीहरुले सोधे, ‘फोर्सको त्यो तहसम्म पुगेको ब्यक्तिले फोर्सकै कर्मचारीमाथि यसरी आक्रमण गर्न मिल्छ ? त्यो पदीय हैसियत सुहाउँदा हो ?’

काठमाडौं, असार १६

नेपाल प्रहरीका पूर्वडिआइजी बिजयराज भट्ट आफ्नो आवेगलाई थाम्न नसक्दा सशस्त्र प्रहरी जवानसँग माफी मागेर भाग्नुपरेको छ । पूर्वडिआइजी भट्टले आज पशुपतिनाथ मन्दिरमै सशस्त्रका एक कर्मचारीमाथि हातपात गर्दा माफी मागेर भाग्नुपरेको हो ।

घटना बिवरणअनुसार विहान पशुपति मन्दिर परिसर भित्र रहेका भिखारी (माग्ने) हरु हटाउन पशुपति क्षेत्र विकास कोषले अभियान चलाइरहेको थियो । पशुपति क्षेत्र विकास कोषको त्यो कामलाई सशस्त्र प्रहरीले साथ दिइरहेको थियो । त्यहीबेला पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका भट्टले कोषका कर्मचारी र सशस्त्र प्रहरीका जवानमाथि अभद्र ब्यवहार देखाउन थाले । माग्नेहरुलाई त्यहाँबाट हटाउन लागेपछि भट्टले आपत्ति जनाए ।

एकाएक बिवादमा उत्रिएर उनले सशस्त्र प्रहरी हवल्दार शालिक राम सुवेदीमाथि हातपात गरे । भट्टलाई आफू पूर्वएआइजी भएको दम्भ थियो, तर त्यहा काम गरिरहेका कोषका कर्मचारी र सशस्त्र प्रहरीलाई उनी को हुन भन्ने जानकारी थिएन । एकाएक आक्रमण गरी भित्र छिनै खोज्दा त्यहाँ रहेका सशस्त्र प्रहरीका कर्मचारीले नियन्त्रणमा लिए । जव नियन्त्रणमा परे, उनले आफू पूर्वडिआइजी भएको परिचय दिए । उनको परिचयपछि सशस्त्र प्रहरी झनै आक्रोशित भए । उनीहरुले सोधे, ‘फोर्सको त्यो तहसम्म पुगेको ब्यक्तिले फोर्सकै कर्मचारीमाथि यसरी आक्रमण गर्न मिल्छ ? त्यो पदीय हैसियत सुहाउँदा हो ?’

उनले आफूले गल्ती गरेको महसुस भएको भन्दै माफी पनि मागे तर त्यहा रहेका सुरक्षाकर्मीले अपराध जस्ले गरेपनि समान कार्वाही भन्दै पक्राउ गर्न बताए । उनीहरुले प्रहरीलाई पनि खवर गरे । त्यहीबीचमा भट्ट पुजा त गर्न दिनोस भन्दै मन्दिर भित्र छिरे । उनी पुजा गर्न मन्दिर छिरेको केही समयमा पक्राउका लागि नेपाल प्रहरी पुग्यो । सशस्त्रका त्यहा कार्यरत कर्मचारी पनि समातेर प्रहरीमा बुझाउने भन्दै बसे । तर भट्ट आफू पक्राउ पर्ने निश्चित भएको महसुस गरी पुजा नै नगरी अर्काै ढोकातिरबाट फरार भए ।

‘सशस्त्र प्रहरीका टोलीले मन्दिर छिरेका भट्टलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको जानकारी पाएपछि उहाँ भग्नुभयो,’ मन्दिरमा रहेका एक जवानले भने ।