जनता टाइम्स

१६ असार २०७६, सोमबार २०:३७

प्रदेशमा लगानी भित्र्याउने खाकासहित अमेरिका उडे मुख्यमन्त्री शेरधन राई


काठमाडौं, असार १६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गर्नुभएको उहाँका प्रेस संयोजक ध्रुव सुवेदीले जनाउनु भएको छ । अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नुहुनेछ ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नुहुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्र्तराष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।