जनता टाइम्स

२१ पुष २०७८, बुधबार १८:५६

चिसो बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द


नेपालगञ्ज, २१ पुस । अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाहरूले विद्यालय बन्दका आ–आफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ तीन दिनका लागि बन्द गरिएको छ । बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्य पालिकाहरू खजुरा र नरैनापुरमा भने सबै विद्यालय बन्द गरिएका छन् । ती विद्यालय पनि तीन दिनकै लागि बन्द गरिएको यादवले बताउनुभयो । नेपालगन्जमा चिसोमा अधिक चिसो र गर्मीमा अधिक गर्मी हुने गर्छ । नेपालगन्जको न्यूनतम तापक्रम ९–१० डिग्रीमा झरेको छ । बाक्लो हुस्सु र शितलहरका कारण चिसो अत्यधिक बढ्दा मानिसहरूको दैनिकी कष्टकर बन्दै गएको छ । नेपालगन्जको राँझा विमानस्थलबाट हुने उडानहरू प्रभावित हुँदै आएका छन् ।

बाक्लो हुस्सुका कारण सवारीसाधन दिउँसै हेडलाइट बालेर चलाउनु परेको चालकहरू बताउँछन् । नेपालगञ्ज, कोहलपुरलगायतका प्रमुख बजार क्षेत्रमा मानिसहरूको चहलपहल पातलिएको छ । चोक तथा गल्लीहरूमा आगो तापेर मानिसहरू चिसो छल्ने प्रयास गरिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य चोक, सार्वजनिक स्थल र मानिसको भिड हुने ठाउँको पहिचान गरी आगोको धुनी बालेर ताप्ने व्यवस्था गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी लगायतको उपस्थितिमा नेपालगन्जका मुख्य चोकमा आगो ताप्ने व्यवस्था गरिएको हो । आगो ताप्नका लागि ड्रम सहित मुख्य चोकहरूमा सुरक्षितरुपमा दाउरा बाल्ने व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मंगलबार ५० वटा ड्रमसहित चोकहरूमा दाउरा सहित आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

आजदेखि आवश्यक थप स्थानमा समेत आगो ताप्ने व्यवस्था मिलाइने सुवेदीले बताउनुभयो । अत्यधिक चिसो र शितलहर भएपछि नगरवासीलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्य चौकहरूमा दाउरा वितरण सहित आगो ताप्ने व्यवस्था गरिएको छ । जाडो अवधिभर आगो ताप्ने व्यवस्था मिलाइने जानकारी दिँदै सुवेदीले विपन्न समुदायका लागि थप राहत र सहयोगका कार्यक्रम सञ्चालन गरिने उपमहानगरले तयारी गरेको जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले शितलहरबाट नागरिकलाई प्रभावित हुन नदिन स्थानीय तहले गर्ने प्रयासमा सहयोग र समन्वय प्रशासनका तर्फबाट हुने बताउनुभयो । उहाँले बाँकेका करिब २६ हजार घरघुरी सित लहर जन्य प्रकोपबाट प्रभावित हुने प्रारम्भिक आँकडा निकालिएको र त्यसको लागि आवश्यक तयारी गरिएको बताउनुभयो ।