जनता टाइम्स

२१ पुष २०७८, बुधबार २०:३७

गगन थापाको खुलासा : राष्ट्रियसभा निर्वाचनसँगै प्रचण्ड-माधवसँगको चुनावी गठबन्धन टुंगिन्छ


काठमाडौं, पुस २१ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिने खुलासा गर्नुभएको छ । सभापतिमा शेरबहादुर देउवासँग पराजीत नेता डा. शेखर कोइराला समूहले आज आयोजना गरेको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो खुलासा गर्नुभएको हो ।

थापाले चुनावी गठबन्धन सरकार संसदीय निर्वाचनसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने प्रष्ट धारणा बैठकमा सुनाउनु भएको हो । सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आगामी तीनै तहको निर्वाचनसम्म सत्तारुढ गठबन्धन मिल्नुपर्ने अनुनय बिनय गरिरहेको बेला महामन्त्री थापाले गुटको बैठकमा यस्तो खुलासा गर्नुभएको हो ।

‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले बैठकमा भन्नुभयो, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुनावसम्म जान्छ । गठबन्धनकै सरकारले चुनाव गर्दा पनि चुनावी गठबन्धन भने हुन सक्दैन, संभव पनि छैन ।’ महामन्त्री थापाले सभापति देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको स्पष्ट पार्नुभयो ।

बैठकमा सहभागी एक नेताका अनुसार महामन्त्री थापाले सभापति देउवाको कार्यशैली कांग्रेसको हितमा नभएको भन्दै कडा आलोचनासमेत गर्नुभएको छ । पार्टी सञ्चालनका सम्बन्धमा देउवाको कार्यशैलीको चर्को आलोचना गर्दै थापाले भनाई उधृत गर्दै ती नेताले भने, ‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?’