सप्तरी, २२ पुस । कोसी नदी कटान डुवान पीडित संघर्ष समितिका संयोजक महादेव प्रसाद चौधरीले कोसी स्थापना कालमा सम्झौता भए अनुसार क्षतिपूर्ति नदिए ब्यारेज घेर्ने चेतावनी दिनुभएको छन् । कोसी नदी कटान चुवान पीडित संघर्ष समिति सप्तरी, उदयपुर, सुनसरीले आज राजविराजमा पत्रकार सम्मेलन गरी भएको अनुसारको क्षतिपूर्ति नदिए ब्यारेज घेराउ गर्ने चेतावनी दिएको हो ।
संयोजक चौधरीले पानी बहावबाट क्षति भोगेका जनतालाई भारत सरकारले सहयोग गर्ने भने पनि व्यवहारमा कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो,‘१० वर्षदेखि हामीले संघर्ष गर्दै आएका छौं । भारत सरकारबाट पटक–पटक आश्वासन पनि पाउँदै आएका छौं । तर, कार्यान्वयन हुने गरेको छैन ।’ संघर्ष समितिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रसमेत पठाएको र सम्झौता अनुसार क्षतिपूर्ति दिनका लागि आग्रहसमेत गरेको जनाएको छ ।
डिप्लोमेटी च्यानलबाट पहलगरि भारत सरकारले क्षतिपूर्ति दिने भएपछि नेपाल सरकारले चासो देखाएर बिगोसहित माग पूरा गर्न चासो दिनुपर्ने संघर्ष समितिको भनाइ छ । ७ हजार ६ सय बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति बापतको रकम ५० करोड भन्दा बढी क्षतिपूर्ति पाउनुपर्ने संघर्ष समितिको दाबी छ । कोसी नदीको कटानमा परेर ४ हजार भन्दा बढी परिवार सुकुम्वासी भइसकेका छन् । हजारौं घर विहीन छन् ।














प्रतिक्रिया दिनुहोस्