जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०७:५६

भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने २ जनालाई एक–एक लाख जरिबाना


काठमाडौं, असार १७  भरतपुर महानगरपालिकामा चुनावपछि मतगणनाको समयमा मतपत्र च्यातेका आरोप लागेका २ जनालाई जनही एक लाख रुपैयाँ जरिबाना हुने भएको छ । निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर्ष पछि फैसला गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका २ जना विरुद्ध चितवन अदालतलेसोमबार प्रत्येकलाई एक–एक लाख रुपैयाँ जरिबाना तोकेको हो ।

मुद्दा फैसला र सजाय निर्धारण भएपछि मतपत्र च्यातेको घटना अदालतबाट किनारा लागेको छ । मत पत्र च्यात्ने काममा संलग्न भएको आरोप लागेका तत्कालीन माओवादी केन्द्रका प्रतिनिधि भरतपुर १ का मधुकर न्यौपाने र भरतपुर महानगर ११ का द्रोणबाबु सिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेकोमा उनीहरुलाई जनही १ लाख जरिबाना तोकिएको चितवन अदालतले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना जारी रहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछिको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको अवस्थामा मत पत्र च्यातिएको थियो । वडा नम्बर २० को मतगणना बाँकी थियो । १९ नम्बर वडा जम्मा मत २८९७ रहेकोमा गणना भइसकेको १८०९ मत र गन्न बाँकी ९९८ तथा क्षति भएको ९० मतपत्र थियो ।

२०७४ वैशाख ३१ भएको निर्वाचनअन्तर्गत जेठ १४ गते राति मतपत्र च्यातिएको थियो । २०७४ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय चितवनले मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरेको २ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ अनुसार मुद्दा दर्ता भएपछि त्यही दिन अदालतबाट ७ दिनको म्याद थप भएको थियो ।

आयोगको नियम अनुसार सबै बदर ठहरियो । पुनः चुनाव भयो । जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका दुई कार्यकर्ता जेठ १८ गते बिहीबार धरौटीमा छुटे । तत्कालीन न्यायाधीश बासु पौडेलको इजलासले न्यौपाने र शिवाकोटीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।