जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १८:१७

पीएम कप : एपीएफको लगातार दोस्रो जित


काठमाडौं, २७ पुस । अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आज टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रनको योगदान दिए । बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिशत जिसीले एकरएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर ईशान पाण्डेले २९ रन बनाए । यस्तै सुभाषले २१ रन जोडे भने नन्दन यादवले २४ र आदिल खानले १८ रनको योगदान गरे ।

एपीएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र शरद भेषवाकरको नाममा समान एक विकेट रह्यो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो । जितसँगै दुई खेलबाट चार अंक जोडेको एपीएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।