जनता टाइम्स

२८ पुष २०७८, बुधबार ०७:५०

अमेरिकामा एकैदिनमा १५ लाखमा कोरोना संक्रमण पुष्टी, ४० प्रतिशत संक्रमित हुने चेतावनी


काठमाडौँ, २८ पुस । अमेरिकामा एकैदिनमा झण्डै १५ लाखमा कोरोना संक्रमण पुष्टी भएको छ । जोन हप्किन्स युनिभर्सिटीले जोडेको तथ्यांक अनुशार सोमबार एकैदिनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै डेढ मिलियन पुगेको हो ।

अन्यन्तै संक्रामक ओमिक्रोन भेरियन्टका कारण अमेरिकामा संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको हो ।कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्याले पनि गतबर्षको जाडो यामको रेकर्डलाई तोडिसकेको छ । गतबर्ष जनवरी १४ मा अस्पताल भर्ना हुनेहरुको संख्या सबैभन्दा उच्च बिन्दुमा अर्थात् १ लाख ४२ हजार २३ सय १५ पुगेको थियो । सोमबार यो संख्या १ लाख ४४ हजार नाघेको छ भने मंगलबार १ लाख ४७ हजार पुगेको छ ।

एकातिर कतिपय राज्यले सप्ताहन्तको तथ्यांकपनि सोमबार सार्वजनिक गर्दा सोमबार सार्वजनिक हुने तथ्यांकमा बढी संख्या देखिएको हुनसक्ने जनाइएको छ । अर्कोतर्फ घरमा नै कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुको संख्या गणनामा नपरेका कारण संक्रमितको कुल संख्यामा उनीहरु छुटेको हुनसक्ने जनाइएको छ ।

ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले गत साता ओमिक्रोन भेरियन्ट संक्रामक भएपनि डेल्टाको तुलनामा कम खतरनाक भएको बताएका थिए । तर त्यसको निष्कर्षमा पुग्न थप तथ्यांकहरु आवश्यक रहेको उनको भनाई थियो । अमेरिकाको हरेक भागमा संक्रमणदर बढेको छ भने सोमबारसम्मको तथ्यांक हेर्दा २८ वटा राज्यमा उच्च बिन्दुमा पुगेको छ । वासिंटन डिसीसहित १५ राज्यमा अस्पताल भर्ना हुने दर उच्च बिन्दुमा छ ।

अमेरिकामा कोरोना संक्रमण बढ्दो रहेको अवस्थामा कुल जनसंख्याको ४० प्रतिशतसम्म ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने एफडीएका पूर्व कमिश्नर स्कटल गोटलिबले चेतावनी दिएका छन् । कतिपय अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित भएर क्वारेन्टीनमा बस्ने अवस्थाका कारण कर्मचारीहरुको अभाव हुँदा थप समस्या चुलिएको छ ।

कर्मचारीमा कोरोना संक्रमणका कारण कैयन एयरलाइन्सले उडानहरु रद्द गरेका छन् । युनाइटेड एयरलाइन्सले आफ्ना झण्डै ३ हजार कर्मचारीहरु संक्रमित भएको बताएको छ । अमेरिकामा कुल ६३ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् भने त्यसमध्ये झण्डै ३६ प्रतिशतले बुस्टर डोज समेत लगाएका छन् ।