कुलप्रसाद काफ्ले, चितवन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै कडा आक्रोश पोख्नुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेश सरकार चुप लागेर बसेको बताउनु भयो ।
तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उहाँले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताउनु भयो । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको बास्कोटाको भनाई छ ।
‘भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको । संसदबाट सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू । लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए ? त्यस विषयमा बोल्नुपर्दैन । एमाले बोल्यो’, बाँस्कोटाले भन्नुभयो । प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उहाँले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने उदघोष पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्