जनता टाइम्स

३ माघ २०७८, सोमबार ०८:४२

बहुला कुकुर पानी देखेर तर्सेजस्तै गठबन्धन चुनावदेखि तर्सिरहेको छः प्रदीप ज्ञवाली



काठमाडौँ, माघ ३। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बहुला कुकुर पानी हेरेर तर्से जस्तै अपवित्र गठबन्धनको सरकार चुनावको नामै सुनेर तर्सिरहेको टिप्पणी गर्नुभएको छ । हाईड्रोफोबिया रोग लागेजस्तै ५ दलीय गठबन्धनको सरकारलाई चुनाव फोबिया रोग लागेको उहाँले जिकिर गर्नुभएको हो ।

रौतहटको कटहरियास्थित एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले ५ वर्ष सरकार चलाउने सहमतिमा माओवादी पार्टीसँग एकता भएको भए पनि मात्र २ वर्षपछि नै प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न विभिन्न षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो। एमालेको स्थिर सरकार देख्न नचाहने शक्तिले प्रचण्ड र माधव नेपाललाई कठपुतली बनाएर ओली नेतृत्वको सरकार ढाल्न लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाको पछिपछि घुमाई रहेको पनि उहाँले दावी गर्नुभयो ।

नेकपा विभाजनमा प्रभु साह, रामबहादुर थापा, टोपबहादुर रायमाझी जस्ता होनहार नेताहरूले एमाले रोजेपछि प्रचण्डलाई ठूलो धक्का लागेको उहाँले बताउनुभयो । सरकारबाट बहिर्गमनपछि एमाले कमजोर हुन्छ भनी गठबन्धन साझेदारहरूले सोचेको तर सरकार बाट बाहिरिँदा एमाले झन् जनता माझ लोकप्रिय भएको देखेर प्रचण्ड र माधव नेपाल हतोत्साहित भएको उहाँको तर्क थियो ।

‘अहिले प्रचण्ड र माधव नेपाल एमालेसँग डराएर कुरैपिछे गठबन्धन तोड्नुहुँदैन, चुनाव पछिसम्म हुनुपर्छ भन्दै हिँडेका छन्,’ उहाँले भन्नुभयो । कम्युनिस्ट आन्दोलनलाई धोका दिएका प्रचण्डले आफू कम्युनिस्ट भएको भने कुनै नैतिकता नरहेको उहाँको भनाइ छ । त्यस्तै १५ वर्ष एमालेमा एकछत्र राज गरेका माधव नेपालले ‘मलाई ओलीले मान गरेन अपमान गर्‍योु भन्नू हास्यास्पद रहेको बताउँदै उनै ओलीको सहयोगमा १५ वर्ष पार्टीको महासचिव बनाउंदा मान गरेन उहाँको प्रश्न रहेको छ ।