जनता टाइम्स

५ माघ २०७८, बुधबार १५:२८

नेपाल पुलिसलाई हराउँदै एपीएफले जित्यो पीएम कपको उपाधि


काठमाडौं, माघ ५ । एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा एपीएफले पुलिसले २१ रनले पराजीत गर्दै उपाधीमाथि कब्जा जमाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको विजयी लक्ष्य पाएको नेपाल पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाएर उपबिजेतामा चित्त बुझाउनु परेको छ । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए । ५४ बल सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दिलिप नाथ २३, आरिफ शेख १२र अनिल साह १० रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्रै खर्चिएका थिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराले १–१ विकेट लिए । यसअघि एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए । १५ बलमा ३ छक्का र २ चौका प्रहार गरेका उनले नै एपीएफको रन उकासेका थिए । त्यस्तै लोकेश बमले २७ रन बनाउँदै सन्दीप जोरा र भुवन कार्कीले क्रमशः २४ र १७ रन बनाए ।

पुलिसका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३र३ विकेट लिए । त्यस्तै गुल्सन झाले २ विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिएएका थिए ।