जनता टाइम्स

६ माघ २०७८, बिहीबार १७:५९

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि


सप्तरी ६ माघ । सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमित मध्ये सबै जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाई छ ।

‘सबै बिरामीले पिसिआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाई रहेको छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,’ यादवले भन्नुभयो ।