जनता टाइम्स

६ माघ २०७८, बिहीबार १८:०४

आहा रारामा एपीएफको विजयी सुरुवात


पोखरा, ६ माघ । आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । १४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए । जितपछि एपीएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए ।

‘हामीले सोचेको जस्तै नतिजा आयो । अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उहाँले भन्नुभयो,‘आयोजक कमजोर टिम थिएन । जीत हामीले निकाल्यौं ।’

आयोजक सहाराका टिम कोच प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताउनुभयो । ‘हामीसँग सेट टिम थिएन । खेलाडीहरू ढिलो गरी पोखरा आइपुगे,’ उहाँले भन्नुभयो, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो । यत्तिको खेल राम्रै हो ।’ प्रतिस्पर्धामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।