जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १५:५१

पेट्रोलियम मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रर्दशन


पोखरा, माघ ७ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्‍याउँदै विरोध प्रर्दशन गरेको हो ।

पोखराको मानव अधिकारचोक देखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटर नचलाई डोहोर्‍याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडी ‘मूल्यवृद्धि फिर्ता गर’, ‘२४ लाख डोज खोप खै ?’ भन्ने कार्ड राखेका थिए । अनेरास्ववियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय मन्नुले मूल्यवृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइकल र स्कुटर डोहोर्‍याएर विरोध प्रर्दशन गरेको जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण सरकारले २५ जना भन्दा बढि जम्मा हुन नपाउने गरी प्रशासनले निषेध गरेको छ । प्रहरीले विद्यार्थीहरुलाई धेरै जना जम्मा नहुन अनुरोध गरेको थियो ।

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ ।