जनता टाइम्स

१८ असार २०७६, बुधबार ०८:३६

पेट्रोलियम पाइप लाइनको सफलतापूर्वक परीक्षण


काठमाडौं, असार १८

पेट्रोलियम पाइप लाइनको पहिलो चरणको परीक्षण सकिएको छ । भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइन बिछ्याइपछि पहिलो चरणको परीक्षण गरिएको हो ।

परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार पहिलोपटक गरिएको परीक्षणको नतिजा सकारात्मक आएकाले त्यसपछिका प्राविधिक काम धमाधम भइरहेका छन् । ‘हाल अन्य युनिटहरूको परीक्षणको काम भइरहेको छ, ज्वाइन्टहरू जोडिरहेका छौं,’ पौड्यालले भने, विभिन्न युनिटका तारहरू जोड्ने काम पनि सँगसँगै भइरहेको छ ।’

यो काममा थप ८ देखि १० दिन लाग्ने उनको अनुमान छ । पाइप लाइनअन्तर्गत सिमरादेखि अमलेखगन्जसम्म पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भएपछि परियोजनाको कामले गति लिएको हो । निकुञ्ज क्षेत्रमा पाइप लाइनको बाटोमा परेका रुख मन्त्रिपरिषदको निर्णयपछि टिम्बर कर्पोरेसन अफ नेपालले काटेको थियो । परियोजनाको ९ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ ।

यो परियोजनाअन्तर्गत २०७४ फागुन २५ देखि पाइप लाइन बिछ्याउने काम सुरु गरिएको थियो । पाइप लाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको छ । हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदै छ । ६ लेन सडकमुनि परियोजनाको पाइप पुरिएको छ । पाइप जमिनमुनि अढाइ मिटर भित्र गाडिएको छ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चांलित यो परियोजनाका लागि नेपालले पाइप लाइन बिछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रति किमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ अर्ब ५० करोड भारु रहेको छ ।