जनता टाइम्स

८ माघ २०७८, शनिबार १८:०९

देउवाको सम्बोधनमा महेश बस्नेतको टिप्पणी : लाज छोप्ने हतियार


काठमाडौं, ८ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताउनुभएको हो ।

अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको बताउनुभयो । नेता बस्नेतले सर्वदलीय बैठकको नाउँमा ६ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

उहाँले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा नरहेको प्रस्ट भएको उहाँले बताउनुभयो । नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको बताउनुभयो ।

अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट गुज्रिरहेको उनले चिन्ता व्यक्त गर्नुभयो । अहिले सबै दलहरूको बीचमा उच्च तहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको, जालसाजी र षडयन्त्रबाट आफ्नो अवैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले बुद्धि पुर्याएर प्रमुख प्रतिपक्ष दलसहित समझदारी निर्माण गरी मुलुकलाई सही दिशा दिनको लागि सरकारको तर्फबाट प्रधानमन्त्री देउवाले अग्रसरता लिनुपर्ने बताउनुभयो । यसो गरिएन भने शेरबहादुर देउवासँगै कांग्रेस र पाँच दलीय गठबन्धनसमेत समाप्त हुने दिशामा जाने निश्चित छ ।