जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १९:५३

एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित,भाेलि रिक्त पदहरूको मनोनयनसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याइने


काठमाडौं, असोज २३ । नेकपा एमालेको जारी स्थायी कमिटी बैठक विभिन्न विषयमा छलफल गर्दै भोलिसम्मका लागि स्थगित भएको छ। भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने गरी आजको बैठक अन्त्य गरिएको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका स्थायी कमिटी सदस्यका थप नाममाथि छलफल भएको थियो। स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी सदस्यको मनोनयनका विषयमा केही नेताहरूबीच अनौपचारिक छलफल भएपछि उक्त विषय भोलिको बैठकमा प्रस्तुत गर्ने सहमति भएको बुझिएको छ।

बैठकपछि सचिव पद्मा अर्यालले पार्टीका विभिन्न पदमा मनोनयन गर्ने विषयमा नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको जानकारी दिनुभयो।

उहाँका अनुसार केन्द्रीय कमिटीमा रिक्त रहेका स्थान, पोलिटब्युरो सदस्यको मनोनयन तथा स्थायी कमिटीमा रिक्त रहेका पदहरू पूर्ति गर्ने विषयमा तयारी भइरहेको छ। उक्त विषयमा भोलिको बैठकमा थप छलफल गरी अन्तिम टुङ्गो लगाउने योजना रहेको सचिव अर्यालले बताउनुभयो।

एमालेको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न तहमा रिक्त पदहरूको मनोनयनसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने अपेक्षा गरिएको छ।