जनता टाइम्स

८ माघ २०७८, शनिबार २१:०४

प्रधानमन्त्रीको सम्बोधन सरकारको लाज छोप्ने अन्तिम हतियार : महेश बस्नेत


काठमाडौं, माघ ८ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको ठोकुवा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताउनु भएको हो ।

अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको बस्नेतको ठहर छ । नेता बस्नेतले सर्वदलीय बैठकको नाउँमा ६ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । उहाँले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा नरहेको प्रस्ट भएको बताउनु भएको छ ।

नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको बताउनु भयो । अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट गुज्रिरहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले सबै दलहरूको बीचमा उच्च तहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको बताउनु भयो ।

नेता बस्नेतले वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको, जालसाजी र षडयन्त्रबाट आफ्नो अवैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको बताउनु भएको छ । उहाँले वर्तमान सरकारले बुद्धि पुर्‍याएर प्रमुख प्रतिपक्ष दलसहित समझदारी निर्माण गरी मुलुकलाई सही दिशा दिनको लागि सरकारको तर्फबाट प्रधानमन्त्री देउवाले अग्रसरता लिनुपर्ने बताउनु भयो । यसो गरिएन भने शेरबहादुर देउवासँगै कांग्रेस र पाँच दलीय गठबन्धनसमेत समाप्त हुने दिशामा जाने निश्चित छ ।

बस्नेतको भनाई जस्ताको तस्तै

परमादेशधारी वर्तमान सरकारले आफ्नो छ महिने कार्यकालको समिक्षा गर्दै हिजो देश र जनताको नाममा जारी प्रधानमन्त्रीज्यूको सम्बोधन सुन्दा । प्रचण्ड पथमा हिडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम,अयोग्य,लाचार र निष्क्रिय नेतृत्वले आफ्नो लाज छोप्ने अन्तिम हतियारको रुपमा हिजोको सम्बोधनलाई उपयोग गर्न खोजेको देखिन्छ।

सोही संबोधनलाई समर्थन हुने गरी आज सर्बदलीय बैठकको नाँउमा छ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन बैशाखमा नगर्ने षड्यन्त्र स्वरुप आफुलाई विधि,पद्दतिमा हिड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट “यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा छैन भन्ने कुरा अझै प्रष्ट भएको छ”।अग्रगमनको कुरा हाँक्ने अनि समयमै गर्नुपर्ने निर्वाचन पछि धकेल्न षडयन्त्र गर्ने ?

काेभिडकाे पछिल्लो भेरियन्ट ओमिक्रोन महामारीको रूपमा फैलिँदा पनि कुनै प्रभावकारी काम गर्न नसकी लाचार बनि रहेको छ। अर्थतन्त्रका परिसूचक अरु नकारात्मक संकेतको साथ ओरालो लागेको बेलामा, राज्यनै फेलर स्टेट घोषणा होला भन्ने अवस्थामा गुज्रिएको बेला सबै दलहरूको बीचमा उच्चतहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको छ ‌। यी सबै कुराको समीक्षा गर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन चाहेको छैन। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो तर यो सरकार जनमतको सम्मान गर्ने कुरामा गम्भीर छैन ‌जालसाजी र षडयन्त्रबाट आफ्नो अबैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको देखिन्छ ‌।

एउटा सोझो मान्छेले आफ्नो धोतीले मुख छोपेर मैले लगाएकोछु, छोपेको छु भनेको जस्तै प्रधानमन्त्रीज्यूको सम्बोधनले सरकारको लाज छोप्ने प्रयत्न त गरेको होला तर जनताको नजरमा झन् नाङ्गिएको छ। तसर्थ अन्य कुनै नौटंकी नगरिकन आगामी वैशाखमा स्थानीय निर्वाचन गरी जतिसक्दो छिटो भइरकेको प्रदेशसभाको पनि निर्वाचन गरी ताजा जनमत लिएर मुलुकलाई निकास दिनु भन्दा देउवा सरकारसँग अन्य कुनै विकल्प छैन । त्योभन्दा फरक ढंगले अगाडि बढ्न खोज्यो भने देश गम्भीर संकटमा पर्नेछ विगतमा जस्तै देउवाको कार्यकालमा कहिले प्रतिगमन, कहिले शाही शासन, कहिले माओवादी आतंकवादबाट जनता प्रताडित हुनु पर्ने जस्तो कि उनकै नेतृत्वमा दुर्दशा नपर्ला भन्न सकिन्न । तसर्थ समयमा बुद्धि पुर्‍याएर प्रमुख प्रतिपक्ष दल सहित समझदारी निर्माण गरी मुलुकलाई सही दिशा दिनको लागि सरकारको तर्फबाट प्रधानमन्त्री देउवाले अग्रसरता लिनुपर्ने देखिन्छ। अन्यथा भिरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन । यसो गरिएन भने शेरबहादुर देउवासँगै कांग्रेस र पाँच दलीय गठबन्धन समेत समाप्त हुने दिशामा जानेछ।