जनता टाइम्स

९ माघ २०७८, आईतवार ०८:०५

सर्वोच्चसहित आज देशभरका अदालत बन्द रहने


काठमाडौं, माघ ९ । आज सर्वोच्च अदालतसहित देशभरका सवै अदालत बन्द रहने भएका छन । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएका हुन । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ । शर्माको बुधबार निधन भएको थियो । उहाँका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश हुनुहुन्थ्यो ।

सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।