जनता टाइम्स

१८ असार २०७६, बुधबार ०९:२४

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्


काठमाडौं, १८ असार । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएको छैन । विसं २०७३ मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्वका मूर्ति चोरी भएका थिए ।

मन्दिरबाट मुख्य दत्तात्रयलगायत २१ थान मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म पनि प्रहरीले अनुसन्धानको नतिजा ल्याउन सकेको छैन । मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले बताउनुभयो । “कोहलपुरमा शङ्ख फेला परेपछि पहिचानका लागि जुम्लामा ल्याएर गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले कोहलपुर पठाइसकेका छौँ ।” उहाँले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो । मन्दिरबाट चोरी भएका मूर्तिमध्ये केही मूर्ति बेवारिसे अवस्थामा फेला परेका थिए ।

गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ मूर्ति र दुई शङ्ख फेला परेका थिए । दाउरा ल्याउन घर नजिकैको जङ्गल जाँदै गर्दा चोरी भएको एक महीनापछि बाटोमा बेवारिसे अवस्थामा मूर्ति फालिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नयाँ मूर्ति प्रतिस्थापन मन्दिरमा २७ घण्टा लगातार पूजापछि दत्रात्तयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । मन्दिरमा २७ घण्टे अखण्ड हवन पूजा गरेपछि नयाँ मूर्ति राखिएको छ । विसं २०७३ मङ्सिर १२ गते मन्दिरका सबै मूर्ति चोरीपछि यति लामो पूजा नभएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मूर्ति चोरी भएको एक वर्षपछि भारतको देहरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको गुठी व्यवस्थापन समिति सचिव रमानन्द आचार्यले बताउनुभयो । “मन्दिरबाट चोरी भएका केही मूर्ति बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रयको मूर्ति अझै फेला परेको छैन”, उहाँले भन्नुभयो, “मुख्य मूर्तिविनै मन्दिरमा पूजाआजा गरिँदै आएको छ, पछि पुरानो मूर्ति भेटिए त्यसलाई नै राख्ने शर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।”

तत्कालीन समयमा मन्दिरका पुजारी र स्थानीय जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको थियो । उनीहरूलाई जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

पूरै मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ । मन्दिरमा पाँच प्रहरीले चौबीसै घण्टा सुरक्षा दिने गरेका छन् । मन्दिरलाई अहिले सिसीक्यामेराको निगारानीमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।