जनता टाइम्स

१८ असार २०७६, बुधबार १०:०७

चिनमाथी नेपाली युवा टोलीको सहज जित


काठमाडौं, असार १८

नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा चीनविरुद्ध सहज जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउन सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनायो। चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६विकेट लिए । ९.१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिएका हुन् । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । चीनका गुहावो गो र लिङ चेनले समान १३–१३ रन बनाए पनि अरु ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

५४ रनको झिनो विजयी लक्ष्यसहित मैदानमा आएको नेपालका ओपनरद्वय पवन शर्राफ र रित गौतमले पाँचै ओभरमै लक्ष्य भेट्टाए । रित गौतमले १० रन बनाउँदा पवन शर्राफले ४६ रन बनाए । पवनले २१ बलको सामना गर्दै ४ चौका र तीन छक्का हिर्काए। नेपालले अब विहिवार सिंगापुरसँग खेल्नेछ ।