जनता टाइम्स

९ माघ २०७८, आईतबार ००:००

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सीमामा परीक्षण प्रभावित


बुटवल, ९ माघ । सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको छ । बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफै कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको हो । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागि आउने भारतीयमा अहिले सीमामा विशेष निगरानी गर्ने भनिए पनि जनशक्ति अभाव देखिएको छ ।

सीमामा कोभिड पहिचान गर्न खटिएका अधिकांश स्वास्थ्यकर्मी अहिले आफै कोभिडको चपेटामा परेका छन् । यसअघि नै चार जना स्वास्थ्यकर्मी कोभिड संक्रमित देखिएका थिए । अहिले त्यो संख्या बढेर सात पुगेको छ । बेलहिया हेल्थ डेस्कमा काम गर्ने ल्याबका कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि अहिले स्वास्थ्यकर्मी आत्तिएका छन् । ल्याबमा काम गर्ने जङ्ग भण्डारी, दिया शर्मा, गणेशप्रसाद साह र नेपाल रेडक्रस सोसाइटिकी रुक्मिणी चौधरीलाई कोभिड संक्रमण देखिएको थियो ।

अहिले सुष्मा खत्री क्षेत्री, संगीता केसी (शक्ति) र रेडक्रसको स्वयम्सेवी अंगीरा यादवलाई पनि संक्रमण भएको छ । स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण देखिएपछि औषधी उपचारदेखि आइसोलेसनसम्मको व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् । ुराज्यकै लागि मरिमेटेर काम गरिरहेका छौं । तर हामी पोजिटिभ हुँदा कुनै किसिमको सहयोग पाउन सकिरहेका छैनौं,’ एक स्वास्थ्यकर्मीले भन्नुभयो,‘आफ्नै खर्चमा उपचारदेखि जोखिमकै अवस्थामा आइसोलेसन बस्नु परिरहेको छ ।’

कतिपय स्वास्थ्यकर्मीलाई कोभिडको लक्षण देखिए पनि उनीहरू सिटामोल खाँदै काम गरिरहेका छन् । हेल्थ डेस्कमा हात धुने व्यवस्थासमेत छैन, खानेपानीको समस्या पनि उस्तै रहेको कर्मचारीहरूको गुनासो छ। कोभिड देखिएका कर्मचारीलाई अहिलेसम्म कसैले कुनै प्रकारको सम्पर्क नगरेको र सन्चो बिसन्चोसमेत नसोधेको उनीहरूको दुखेसो छ ।

बेलहिया हेल्थ डेस्कको व्यवस्थापन अहिले सिद्धार्थनगर नगरपालिकाले हेरिरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका निमित्त प्रमुख गीता न्यौपाने पोखरेलका अनुसार डेस्कमा नगरपालिकाका नौ जना, एसएसबीएसका चार जना, किड्सका दुई जना, सेतो गुराँसबाट एक जना र रेडक्रसका तीन जना कर्मचारीहरू खटिएका छन् । यी मध्ये कसैलाई कोभिड पोजिटिभ देखिए उसको सट्टामा अरूलाई खटाउने गरिएको छ ।

पोखरेलले डेस्कमा पोजिटिभ देखिएका कर्मचारीहरू आफ्नै खर्चमा उपचार गर्नु पर्ने बताउनुभयो । होम आइसोलेसनमै बस्नु परेको हुँदा स्वास्थ्यकर्मीको लागि अलग्गै आइसोलेसनको व्यवस्था नगरिएको उनको भनाई छ । कोभिड संक्रमण देखिएका मध्ये अहिलेसम्म कसैको पनि अवस्था जटिल नदेखिएको हुँदा सबै आफ्नै खर्चमा बसेको उहाँको भनाई छ । यस बाहेक संक्रमित देखिएकालाई नगरपालिकाबाट नै जडीबुटी एवं स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधीहरू प्रदान गरिएको उहाँले बताउनुभयो ।