जनता टाइम्स

९ माघ २०७८, आईतवार १९:१६

जुम्लामा प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम


जुम्ला, ९ माघ । जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा एकल महिला र जेष्ठ नागरिकको सेवा व्यस्त हुनुहुन्छ । उहाँ कोरोनाको बढ्दो संक्रमण होस् वा जुम्लाको माइनस डिग्रीको चिसोमा होस् सतर्कता अपनाउँदै जनताको सेवामा तल्लिन हुनुभएको हो । उहाँ यतिवेला ‘सुनौलो हजार दिनभित्रका आमासँग र जेष्ठ नागरिकसँग उपाध्यक्ष’कार्यक्रम लियर गाउबस्तीमा व्यस्त हुनुहुन्छ ।

तिलाका गाउँबस्तीमा पुगेर एकल महिला र जेष्ठ नागरिकका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना कुरासहित पोषणको महत्वबारेमा जानकारी गराउँदै आउनुभएको छ । ‘पालिकाका नौ वटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,’ उपाध्यक्ष बुढाले भन्नुभयो,‘कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखि पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुग्ने गरेकी हुँ । ’

त्यस्तै उपाध्यक्ष बुढाको नेतृत्वमा सञ्चालितल आमासँग उपाध्यक्ष कार्यक्रमले यहाँका महिलालाई सचेत बनाएको तिला २ की आश्मा रावतले बताउनुभयो । यो प्रशिक्षणले हामीलाई पोषण र पोषिलो खानेकुरा खानका लागि निकै राहत पुगेको छ । उहाँले भन्नुभयो,‘यो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । उनले भनिन्, ुस्वास्थ्यकर्मीको टोली सहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अध्यान दिनु पर्ने कुराको बारेमा बुझाउनु हुन्छ ।’

‘पहिलो वर्ष फिल्टर बाँढेका थियौँ । दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँढ्यौं । तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ ’उपाध्यक्ष बुढाले भन्नुभयो । अहिले गर्भवती तथा सुत्केरी आमालाई पोषिलो खानेकुरा बनाउनका लागि गाउँगाउँमा पुगिरहेको उहाँले बताउनुभयो । पोषिलो कोसेली स्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिइएको पनि सुनाउनुभयो । अहिले जेष्ठ नागरिकलाई हर्लिक्स, कपडा, तोरीको तेल दिने गरिएको उहाँले बताउनुभयो ।

आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझाव सहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उहाँले बताउनुभयो । ‘सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छौँ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइरहेका छौं’ उहाँले थप्नुभयो ।

स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक रहेको उहाँले बताउनुभयो । तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिनुभयो ।

जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताउनुभयो । पालिका भित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ ।

त्यस्तै तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले १, २ ,३ ५, र ७ वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । जाडोबाट बच्नका लागि ज्येष्ठ नागरिकलाई टोपी र हर्लिक्स प्रदान गरिएको हो । पालिकाका सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान कार्यक्रम रहेको छ ।