जनता टाइम्स

१८ असार २०७६, बुधबार ११:५०

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने


काठमाडौं, असार १८

असार मध्य कट्दा पनि नेपालमा अझै मनसुन सक्रिय हुन सकेको छैन । सामान्य अवस्थाभन्दा केही दिन ढिलो गरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन भने थप केही दिन लाग्ने भएको छ ।

सामान्य समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन सकेको छैन । मध्य असार भइसक्दासमेत वर्षा नहुँदा किसानहरुले धान रोप्न पाएका छैनन् । मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भए पनि पर्याप्त मात्रामा वर्षा भने भएको छैन । सामान्यतया पहाडी भूभागमा दिउँसोपछि सामान्य वर्षा भए पनि ठूलो पानी पर्न सकेको छैन ।

मनसुन अहिले कमजोर अवस्थामा छ । अझै केही दिन सक्रिय हुने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नेपालमा मनसुन भित्रिए पनि सुरुवाती दिनहरुबाटै कमजोर छ । न्यूनचापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो ।’

भारतको मध्यतिर रहेको न्यूनचापीय रेखा विस्तारै माथितिर सर्ने र नेपालतर्फ आएपछि मात्र नेपालमा मनसुनी वर्षा सक्रिय हुनेछ । यसका लागि अझै केही दिन लाग्ने मौसमविद्हरुको भनाइ छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले यसअघि यो वर्षको मनसुन कस्तो हुन्छ भन्नेबारेमा गरेको अध्ययनमा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भू–भागहरुमा औसत भन्दा कम मनसुनी वर्षा हुने अनुमान गरेको थियो भने बाँकी गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरेको छ ।