जनता टाइम्स

१८ असार २०७६, बुधबार १२:५२

फलदायी बन्दै मुख्यमन्त्री पोखरेलको चीन भ्रमण : समृद्धि यात्रामा सिचुवान प्रान्तले गर्यो सघाउने घोषणा


छेन्दु (चीन), असार १८

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलको र सिचुवान प्रान्तका गभर्नर यीन लीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएो छ । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताउनु भयो । त्यस अपसरमा मुख्यमन्त्री पोखरेलले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले छेन्दु–भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । यस्तै प्रदेश ५ मा तीन ठूला औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले लगानीकर्तालाई पनि आह्वान गर्नुभएको भ्रमण दलमा सहभागी मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक शेरबहादुर केसीले जाकनारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच पनि भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले सत्तारुढ नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति चीनको सम्मान रहेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल लुम्बिनी पुर्याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फड्को हुने र चिनियाँ नागरिकलाई लुम्बिनी पुग्न सहज हुने धारणा राख्नुभयो ।

भ्रमणको क्रममा मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउ पिनबीच पनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउ पिनले सिचुवानमा कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको र कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको जानकारी गराउनु भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेलसहितको टोली १० दिने चीन भ्रमणमा रहेको छ । मुख्यममन्त्री पोखरेल नेतृत्वको टोली यही असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ । टोलीमा युवा संघ, अनेरास्वबियूका संयोजकसहित नेकपाका जनसंगठनका नेतासमेत सहभागी छन ।