धनगढी, १६ माघ । कैलालीमा कोरोनाभाइरस संक्रमणको जस्तै लक्षण देखिने बिरामीको संख्या ह्वात्तै बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र शरीरका जोर्नी दुख्ने बिरामी बढे पनि सावधानी भने अपनाएको देखिँदैन । कोरोना जस्तै लक्षण भएका बिरामी घरघरमै हुँदा रोगको परीक्षण भने न्यून मात्रै हुने गरेको छ । सेती अस्पतालले सार्वजनिक गर्ने दैनिक परीक्षण दरअनुसार कैलालीमा दैनिक २०० हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ ।
कोरोना परीक्षणका लागि अस्पताल पुग्नेमध्ये ६० प्रतिशतभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । तर, गाउँ टोलमा बस्ने अधिकांस मानिस भने मौसमी रुघाखोकी भन्दै स्वास्थ्य परीक्षण गराउँदैनन् । ‘अस्पताल गए रुघाखोकीलाई पनि कोरोना देखाइहाल्छन्,’ धनगढी–२ का स्थानीय करन कुँवरले भन्नुभयो, ‘तर, यो एक दुई दिन घरमै बस्दा आफैँ निको हुने मौसमी ज्वरो हो, अहिले जताततै फैलिएको छ । अस्पतालसम्म टोलका कोही गएका छैनन् ।’
उहाँले घरघरमै अहिले मौसमी ज्वरोका विरामी रहेका बताउनुभयो । ‘बालकदेखि वृद्धवृद्धा सबैमा अहिले मौसमी ज्वरो आएको छ,’ उहाँले भन्नुभयो, ‘सवै घरमै निको भइरहेका छन् ।’ धनगढी–१२ का स्थानीय केशव मिश्रले पनि वडामा मौसमी रुघाखोकी फैलिएको बताउनुभयो । ‘घरघरमै मौसमी ज्वरोका बिरामी छन्,’ उहाँले भन्नुभयो, ‘एक दुई जनालाई बढी भएर अस्पताल जाँदा कोरोना देखायो, त्यसको डरले अरु व्यक्ति अस्पताल गइरहेका छैनन्, बिरामी पर्ने सबै घरमै निको भइरहेका छन् ।’
ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल गएका एक दुई जनामा कोरोना पोजेटिभ आएको उहाँले बताउनुभयो । एक दुई जनामा कोरोना पोजेटिभ आएको भन्ने सुन्दा गाउँमा त्रास छाएको बताउँदै उनले पछिल्लो समय त्यस्तै प्रकृतिका बिरामी घरघरमै रहे पनि परीक्षण गराउन भने कोही नगएको उहाँले बताउनुभयो । ‘कोरोना पोजेटिभ देखाउँदा सबै डराउने र गाउँमा हिँड्डुल गर्न पनि संक्रमितलाई समस्या हुने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘जसका कारण अहिले रोग लागेर पनि अस्पताल कोही गएका छैनन् । तर, सबै बिरामीमा लक्षण भने कोरोना जस्तै देखापर्ने गरेका छन् ।’
गाउँभरी बिरामी बढे पनि सावधानी भने कसैले नअपनाएको धनगढी–४ का स्थानीय वीरेन्द्र ऐरी बताउँछन् । पछिल्लो समय घरघरमा कोरोना जस्तै लक्ष्यण भएका बिरामी रहे पनि त्यसलाई कसैले गम्भिर रुपमा नलगेको र सावधानी पनि नअपनाइएको उहाँले बताउनुभयो । ‘बिरामी हुने सबै चिसो लागेर होला, ठिक भइहाल्छ भन्दै अस्पताल पनि जादैनन्,’ उहाँले भन्नुभयो, ‘न त सावधानी नै अपनाइएको छ, रोगीहरू पनि विनामास्क समाजमा हिँडिरहन्छन्, सबैले स्वास्थ्य परीक्षण गराएमा कोरोना संक्रिमतको संख्या बढ्न सक्द छ ।’
स्वास्थ्यकर्मीले भने रोग नलुकाउन र रोग लागेमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न सुझाएका छन् । ‘कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ,’ धनगढी स्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फजिसियन डाक्टर शेरबहादुर कमरले भन्नुभयो, ‘यस्ता बेला शंकास्पद सबैै व्यक्तिले स्वास्थ्य परीक्षण गराउनु उपुयुक्त हुन्छ । लापरबाहीले स्वास्थ्यमा गम्भीर असर हुन सक्द छ ।’ उहाँले कोरोनालाई सामान्य रुपमा नलिनसमेत आग्रह गरेका छन् ।
‘ज्वरो आउने र ठिक भएपछि सबै ठिक भइहाल्यो भन्ने भ्रम हुन सक्द छ,’ उहाँले भन्नुभयो, ‘तर कोरोनाले ज्वरो निको भएपछि पनि असर गरिरहेको हुन्छ, यसको मानसिक असर रोक्न सवैले स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ ।’
उहाँले कोरोना संक्रमण पुष्टि भएकाहरू अस्पतालको आइसोलेसनमा बस्न नमान्ने गरेको बताउनुभयो । ‘कोरोना संक्रमित भएका व्यक्तिहरूपनि सकभर होमआइसोलेसनमै बस्छु भन्छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूबाट कोरोना संक्रमण बढ्ने खतर बढी हुन्छ ।’ कोरोनाको संक्रमण दर बढे पनि नागरिकले भने स्वास्थ्यका मापदण्ड नअपनाएको उहाँले बताउनुभयो । ‘बजारमा विनामास्क डुलिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘भिडभाड हुने कार्यक्रम भइरहेकै छन्, धेरैले कोरोना खोप लगाएकाले जटिल खालको समस्या नदेखिएको हो ।’













प्रतिक्रिया दिनुहोस्