जनता टाइम्स

१८ असार २०७६, बुधबार १७:१५

राहुल गान्धीको घोषणा : म पार्टी अध्यक्ष होइन, चाँडो गान्धी परिवार बाहिरबाट अध्यक्ष खोज्नुपर्छ


काठमाडौं, असार १८

भारतको राजनीतिक दल काङ्ग्रेसमा जारी नेतृत्व सङ्कट कायमै रहँदा राहुल गान्धीले अब आफू पार्टी अध्यक्ष पदमा नरहेको घोषणा गर्नुभएको छ । बुधबार मिडियाको प्रश्नमा उनले अब पार्टी अध्यक्ष को होला भन्ने कुराको फैसला काङ्ग्रेस वर्किङ कमिटी (सीडब्ल्यूसी)ले गर्ने पनि बताउनु भयो ।

उहाले भन्नुभयो, ‘बिना कुनै विलम्ब अब पार्टी अध्यक्षको चुनाव गर्नुपर्छ । म यो प्रक्रियामा सामेल छैन । मैले पहिला नै अध्यक्ष पदबाट राजिनामा दिइसकेको छु र म अब उक्त पदमा छैन । सीडब्ल्यूसीले जतिसक्यो छिटो बैठक बोलाएर फैसला लिनुपर्छ ।’ यस पटकको लोकसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि राहुलले काङ्ग्रेस अध्यक्ष पदबाट राजिनामा दिँदै अब गान्धी परिवारभन्दा बाहिरबाट कसैलाई अध्यक्ष बनाउनुपर्छ भन्नुभएको थियो । राहुलले राजिनामा दिएपछि पार्टी वरिष्ठ नेताहरुले त्यो फिर्ता लिनका लागि सम्झाउन खोजेका थिए ।

उहाको राजिनामा फिर्ता गरेर पुनः अध्यक्षमै राख्ने कोसिस अहिले पनि गरिँदैछ । तर राहुलले बुधबार आफू कुनै पनि हालतमा अध्यक्ष नबस्ने र चाँडोभन्दा चाँडो नयाँ अध्यक्ष चुन्नुपर्ने बताएपछि राजिनामा फिर्ता लिने मुडमा उहा नरहेको बुझ्न सकिन्छ ।
(एजेन्सी)