जनता टाइम्स

१९ असार २०७६, बिहीबार ०५:५०

मध्यपुर थिमीको नगरसभाले गर्यो नगरप्रमुख श्रेष्ठमाथि नै छानबिनको निर्णय


भक्तपुर, असार १९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बुधबार सकिएको विशेष नगरसभाले नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि नै छानबिन गर्ने प्रस्ताव पारित गरेको छ। नगर प्रमुख श्रेष्ठको अनुपस्थितिमा भएको विशेष नगरसभाले श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर गएर आर्थिक कारोबार तथा योजना सञ्चालन गरेको ठहर गर्दै छानबिन गर्ने प्रस्ताव पारित गरेको हो।

उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा भएको नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ‘क’ मा भएको नगर प्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगर प्रमुख श्रेष्ठले आर्थिक कारोबार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाई योजना सञ्चालन गरेको ठहर गरेको छ। सोही आरोपको आधारमा प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने निर्णय भएको प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष राम थापामगरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने प्रस्ताव पारित गरे पनि छानबिन गर्ने समिति भने गठन गरिसकेको छैन।

‘विशेष नगरसभाबाट प्रमुख श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर गएर गरेका कामकारबाहीको छानबिन गर्ने प्रस्ताव पारित भएको छ, तर नगरसभाले छानबिन समिति भने गठन गरेको छैन,’ प्रवक्ता थापामगरले भन्नुभयो । यता विशेष नगरसभाबाट छानबिन गर्ने भनिएको नगर प्रमुख श्रेष्ठले भने आफूले स्थगित गरेको विशेष नगरसभा नै अवैधानिक भएको बताउनु भयो । उहाँले आफ्नो अनुपस्थितिमा भएको विशेष नगरसभा वैधानिक नहुने बताउनु भयो ।

‘मेरो अनुपस्थितिमा भएको विशेष नगरसभा नै अवैधानिक छ, त्यसैले अवैधानिक नगरसभाले के प्रस्ताव पारित गर्छ, त्यसले अर्थ राख्दैन,’ प्रमुख श्रेष्ठले भन्नुभयो । नगर प्रमुख श्रेष्ठले आफ्नो अनुपस्थितमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा विशेष नगरसभा बसेको जानकारी पाएपछि सूचना प्रकाशित गरी स्थगित गर्नुभएको थियो । नगर प्रमुख श्रेष्ठले बुधबार बिहान ११ बजेको लागि विशेष नगरसभाको आह्वान गर्नुभएको थियो । तर तयारी पूरा नभएको भन्दै ११ बजे नै सूचना टाँस गरेर बुधबार नै दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको थियो। नगरसभा स्थगित गरिएपछि नगरसभामा प्रस्तुत गर्ने प्रस्तावमा सहमति नहुँदा आफूले पुनः नगरसभा स्थगित गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले उपप्रमुखसहित बहुमत जनप्रतिनिधिहरूले विशेष नगरसभा आह्वान गर्न माग गरेका बुधबार नगरसभा आह्वान गरेको स्पष्ट पार्नुभयो । विशेष नगरसभा आह्वान गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख भएका प्रस्तावहरू विशेष नगरसभाको प्रस्ताव हुनै नसक्ने उहाँको भनाइ छ ।

व्यक्तिगत लाञ्छनाको मुद्दालाई नगरसभाको प्रस्तावको रुपमा लानै नसकिने प्रमुख श्रेष्ठको तर्क थियो। तर प्रमुख श्रेष्ठकै सूचनाअनुसार बुधबार २ बजेपछि पनि नगर प्रमुख श्रेष्ठ स्वयम् सभास्थलमा उपस्थित नभएपछि उपप्रमुख मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा सम्पन्न गरिएको नपाका प्रवक्ता थापामगरको भनाई छ । उहाँका अनुसार विशेष नगरसभाले अघिल्लो नगरसभाले बढाएको केही करहरू घटाउने निर्णयसँगै केही ऐनहरूसमेत पारित गरेको छ।