जनता टाइम्स

१९ असार २०७६, बिहीबार ०६:०६

घोराही उपमहानगर र चीनको यान सिटीबीच भगिनी सम्बन्ध स्थापित, नेपाल भ्रमण गर्न मुख्यमन्त्री पोखरेलको निम्तो


चीन, असार १९

नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चिनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजित एक कार्यक्रममा दुई नगरबीच भगिनी सम्बन्ध स्थापित सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख जिन झोऊले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरा प्रमुख नरुलालले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराउनुभयो। साथै उहाँले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको र अझै यश क्षेत्रमा काम गर्न बाँकी रहेको बताउनुभयो। यान सिटी र घोराही उपमहानगर बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उहाँले अपेक्षा पनि राख्नुभयो । ुहामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछु, चौधरीले भन्नुभयो ।

कार्यक्रममा यान सिटिका मेयर झोउले यान सिटीको विशेषता बताउनु भयो । उहाँले पानी, माछा, चिया, पाण्डाका लागि यान प्रशिद्ध रहेको बताउनुभयो। यहाँको विशेषतः पर्यावरण राम्रो रहेको भन्दै उहाँले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताउनु भयो। उहाँले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

नेपाल भ्रमण गर्न मुख्यमन्त्री पोखरेलको निम्तो

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चाइनासँग बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताउनु भयो। आजभन्दा ७ सय वर्ष पहिले चिनिया मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उहाँले चिनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने जानकारी दिनुभयो ।

उहाँले चिन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने बताउनुभयो। नेपाल र चीनको दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने अपेक्षासमेत मुख्यमन्त्री पोख्रेलले गर्नुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यहीँ मान्यता राखेको भन्दै उहाँले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि निमन्त्रणा दिनुभयो।

गत सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ तथा प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको छ।