जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १८:१५

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य


काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।

९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।