जनता टाइम्स

२० असार २०७६, शुक्रबार ०८:११

जिल्ला प्रहरी प्रमुख नै बिहानैदेखि रक्सीले मात्तिएर निवासमै ढलेपछि…


गोरखा, असार २०

जिल्ला प्रहरी कार्यालय गोर्खाका एसपी भोला रावल बिहानैदेखि रक्सीले मात्तिएर निवासमा ढलेको पाइएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद शर्मा घिमिरेले पटक पटक सम्पर्क गर्दा लापत्ता देखिएका एसपी रावल कार्यालयमै मापसे गरी बसेको पाइएको हो ।

प्रहरीका अनुसार डिआइजी घिमिरेले फोन गर्दा रिसिभ नगरेका रावलले कलब्याक गरेर उल्टै गाली गरे। एकपटक त गलवन्दी भन्दै डिआइजीकै भण्डाफोरमा गित पनि गाइदिए । कार्यालय समयमै होस गुम्ने गरी मापसे गरेको संकेत पाएपछि प्रदेशबाट एसएसपी हरीराज वाग्लेको टोली जिप्रका गोर्खाको निवासमै डाक्टर लिएर गएर मेडिकल चेकजाँच गरेर पोखरा फर्केको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको हो । छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी घिमिरेले जानकारी दिनुभयो ।

‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ,’ डिआइजी घिमिरेले भन्नुभयो । गोरखा अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोलीले एसपी रावलको मेडिकल चेकजाँच गरेको अस्पतालले जनाएको छ ।

नौ दिनदेखि वेपत्ता भइरहेका गोरखाको यारु बगरका व्यवसायी धनकमल गुरुङ र उनीमाथि आक्रमण गर्ने ६ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरीको टोली निरीक्षणका लागि पठाएको डिआइजी घिमिरेले बताउनु भएको छ । तर एसपीले गलवन्दी भन्दै गाली गरेपछि टोली पठाइएको प्रदेश प्रहरीका एक अधिकृत बताउँछन ।