अमेरिका, असार २०
दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो।
अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन्। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ । रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको स्थानीय भूगर्भविद प्राध्यापक जन रन्डलले बताएका छन् ।
उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन् । क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए ।
नगरका मेयर पेग्गी ब्रिडेनले सीएनएनसँग कुरा गर्दै त्यहाँ आपतकालीन स्थितिको घोषणा गरिएको बताइन् । ‘हाम्रो निम्ति भूकम्प त नौलो होइन। तर यति ठूलो भूकम्प बेहोर्न भने बानी छैन’, उनले भनिन्। रिजक्रेस्ट निवासी स्टीभन साइक्स भूकम्पका बेला नुहाइरहेको बताउँछन्। ‘पूरै घर बेस्सरी हल्लियो अनि हामी बाहिर सडकतिर भाग्यौँ। शायद पन्ध्र बीस सेकेन्डसम्म यस्तो भयो। निकै डर लाग्यो’, उनले बताए।
‘अरू भूकम्प आउलान् कि भनेर हामी तयारी गर्दैछौँ। सामानहरू भूइँतलामा ओसार्दैछौँ अनि ग्यास लाइन बन्द गरेका छौँ। राति हामी बाहिरै सुत्छौँ होला’, उनले भने। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो । साना परकम्प आइरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्। अमेरिकी भूगर्भ निकाय युएसजीएसका भूकम्पविद लुसी जोन्सले कैयौँ परकम्प आउन सक्ने बताइन् । तीमध्ये केही शक्तिशाली हुन सक्ने उनले बताइन् । करिब २८ हजार जनसङ्ख्या भएको रिजक्रेस्ट नगरका एकजनाले त्यहाँको एउटा किनमेल केन्द्रमा भूकम्पका कारण सबै सामान भूइँमा झरेको फोटो ट्वीट गरेका छन्।
प्रतिक्रिया दिनुहोस्